सामाजिक सञ्जाल फेसबुकमार्फत महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो, भोटाहिटीको टोलीले काठमाडौँको चन्द्रागिरि नगरपालिका वडा नं. ११, सतुङ्गल बस्ने ६१ वर्षीय प्रद्युम्न श्रेष्ठलाई पक्राउ गरेको हो।
अपशब्द र नकारात्मक टिप्पणी ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) दिलीप कुमार गिरीका अनुसार श्रेष्ठले एक महिलाको तस्बिर दुरुपयोग गरी फेसबुकमा पोस्ट भएको फोटोमा अपशब्द तथा नकारात्मक टिप्पणी गरेका थिए। पीडित महिलाले दिएको निवेदन/जाहेरीका आधारमा ब्यूरोले प्राविधिक अनुसन्धान तथा विश्लेषण गर्दा श्रेष्ठको संलग्नता खुलेको हो।
४ दिन म्याद थप गरेर अनुसन्धान सुरु ब्यूरोबाट खटिएको टोलीले उनलाई असार १ गते पक्राउ गरेको थियो। पक्राउ परेका श्रेष्ठमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाइएको छ।
थप अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतबाट दिन ४ (चार) को म्याद थप भई कार्य भइरहेको साइबर ब्यूरोले जनाएको छ।