रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज, बालेन शाह वरिष्ठ नेता बन्ने

image बुधबार, आषाढ १७ २०८३
image
A+ A A-

 

काठमाडौँ, १७ असार ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा सम्पन्न पहिलो ऐतिहासिक महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय चमतीमा हुँदैछ। चितवनमा असार ७ देखि १२ सम्म चलेको महाधिवेशनबाट निर्वाचित ९३ केन्द्रीय सदस्य र ६ पदाधिकारी (उपसभापति द्वय स्वर्णिम वाग्ले र सोविता गौतम, महामन्त्री विपिन आचार्य, सहमहामन्त्रीहरू असिम शाह, निशा डाँगी र हरि ढकाल) लाई सभापति रवि लामिछानेले शपथ गराउनेछन्। सभापति लामिछानेले भने महाधिवेशन समापनकै क्रममा शपथ लिइसकेका छन्।

बालेन शाह वरिष्ठ नेता बन्ने, ५१ जनाको मनोनयन चरणबद्ध हुने

शपथ ग्रहणलगत्तै आजै बस्ने केन्द्रीय समिति बैठकबाट मनोनयनको प्रक्रिया सुरु हुनेछ। रास्वपाको विधानअनुसार पदाधिकारीमा मनोनित हुनुअघि केन्द्रीय सदस्य हुनुपर्ने व्यवस्था छ। रास्वपामा वरिष्ठ नेतासहित १२ जना पदाधिकारी मनोनित हुनेछन्, जसमा प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह वरिष्ठ नेतामा मनोनित हुने निश्चित भएको छ। शाहसँगै जोडिएका सुनील लम्साललाई उपसभापति र भूपदेव शाहलाई महामन्त्रीमा मनोनित गर्ने तयारी छ। बाँकी ५१ केन्द्रीय सदस्यहरूको मनोनयन भने आवश्यकता अनुसार चरणबद्ध रूपमा गरिने महामन्त्री विपिन आचार्यले जानकारी दिएका छन्। मनोनयन गर्दा अनिवार्य समावेशी सिद्धान्त अपनाउनुपर्ने र कम्तीमा ४ महिला तथा २ सीमान्तकृत समुदायको प्रतिनिधित्व हुनुपर्ने विधानमा उल्लेख छ।

निर्वाचित केन्द्रीय सदस्यको सूचीमा फेरबदल

यसैबीच, रास्वपा केन्द्रीय निर्वाचन आयोगले यसअघि सार्वजनिक गरेको केन्द्रीय सदस्यको परिणाममा प्राविधिक त्रुटि सच्याउँदै दुई जनाको नाम हेरफेर गरेको छ। जनजाति क्लस्टरतर्फ यसअघि निर्वाचित भनिएका कृष्णमान श्रेष्ठको ठाउँमा ध्रुवकुमार थापा मगर र गण्डकी प्रदेश भूगोलतर्फ सोम शर्माको ठाउँमा बढी मत पाएकी पूजा बास्तोलालाई निर्वाचित घोषणा गरिएको छ। आश्विन १७ गतेको शपथपछि चियापान र नवनिर्वाचित केन्द्रीय समितिको प्रशिक्षण कार्यक्रमसमेत राखिएको छ।