चितवन, ७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक महाधिवेशन आजदेखि चितवनको भरतपुरस्थित गेष्टहाउस चौरमा सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता बालेन शाहले संयुक्त रूपमा गर्ने कार्यक्रम रहेको छ ।
महाधिवेशनलाई व्यवस्थित बनाउन आवश्यक मञ्च व्यवस्थापन, आवास, यातायात, सुरक्षा तथा स्वयंसेवक परिचालनलगायतका सम्पूर्ण तयारी पूरा भइसकेको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । उद्घाटन समारोह स्थललाई सभापति लामिछाने र वरिष्ठ नेता शाहको तस्वीरसहित आकर्षक ढंगले सजाइएको छ । महाधिवेशनका लागि देशभरका जिल्ला, प्रदेश तथा विदेशस्थित सम्पर्क समितिहरूबाट प्रतिनिधि छनोटको प्रक्रिया पूरा भइसकेको छ ।
३ हजार ९१८ प्रतिनिधि सहभागी हुँदै चितवनमा आयोजना हुने यस महाधिवेशनमा देशभर र प्रवासबाट गरी कुल ३ हजार ९१८ जना प्रतिनिधिहरू सहभागी हुँदैछन् । यसमध्ये ३०० जना प्रतिनिधिलाई मनोनयन गर्ने जिम्मेवारी पार्टीका दुई महामन्त्रीलाई दिइएको छ । रास्वपा सचिवालय सदस्य हरि ढकालका अनुसार हालसम्म पार्टीको सदस्य संख्या पाँच लाख पुगेको छ भने ६१० पालिका र ४ हजार ६३ वडामा अधिवेशन सम्पन्न भइसकेको छ । ६ प्रदेशका ६४ जिल्लामा अधिवेशन सकिएर प्रतिनिधि आइसकेका छन् भने मधेश प्रदेश र निर्वाचन हुन बाँकी १३ जिल्लाबाट तदर्थ समितिमार्फत प्रतिनिधिहरू सहभागी भएका छन् ।
१५१ सदस्यीय केन्द्रीय समिति, पदाधिकारीमा महिला सहभागिता सुनिश्चित गरिने पार्टीको सचिवालयले विधान परिमार्जन गर्दै हालको १२१ सदस्यीय केन्द्रीय समितिलाई बढाएर १५१ सदस्यीय बनाउने संशोधन प्रस्ताव तयार गरेको छ । परिमार्जित विधानअनुसार अब खुला प्रतिस्पर्धाबाट ९९ जना केन्द्रीय सदस्य चयन हुनेछन् भने बृहत् राजनीतिक समायोजनलाई ध्यानमा राख्दै ५१ जना सदस्य समावेशिताका आधारमा पार्टी सभापतिले मनोनयन गर्ने व्यवस्था गरिएको छ । प्रत्येक प्रदेशबाट एक महिलासहित पाँच-पाँच जना केन्द्रीय सदस्य हुनुपर्ने बाध्यकारी नियम बनाइएको छ ।
यस्तै, रास्वपाले आफ्नो संगठनात्मक ढाँचामा ऐतिहासिक परिवर्तन गर्दै वरिष्ठ नेतासहित पदाधिकारीमा महिलाको सहभागितालाई अनिवार्य गर्ने निर्णय गरेको छ । नयाँ प्रस्तावअनुसार पार्टीमा एक सभापति, एक वरिष्ठ नेता, तीन उपसभापति (एक महिला अनिवार्य), दुई महामन्त्री, पाँच सहमहामन्त्री (एक महिला अनिवार्य), एक प्रवक्ता, तीन सहप्रवक्ता (एक महिला अनिवार्य), एक कोषाध्यक्ष र दुई सहकोषाध्यक्ष (एक महिला अनिवार्य) रहनेछन् ।
भावी राजनीतिक रणनीति र संगठन विस्तार महाधिवेशनले पार्टीको आगामी कार्यदिशा निर्धारण गर्नुका साथै संगठन सुदृढीकरण र जनसम्बन्धलाई थप मजबुत बनाउने लक्ष्य राखेको छ । प्रवक्ता झाका अनुसार निर्वाचनमा प्राप्त मतलाई पार्टीको ‘आम्दानी’ र ऊर्जाका रूपमा लिएर टोलस्तरसम्म संगठन विस्तार गर्ने नीति लिइएको छ । परम्परागत राजनीतिक दलहरूको जस्तो भ्रातृ संगठन नबनाई सिधै पार्टी संरचनालाई नै तल्लो तहसम्म लैजाने रास्वपाको वैधानिक व्यवस्था रहेको छ । महाधिवेशनमा राजनीतिक, आर्थिक र साङ्गठनिक प्रतिवेदनहरूमाथि प्रतिनिधिहरूबीच व्यापक छलफल हुनेछ ।