कांग्रेस सभापति थापाद्वारा रास्वपालाई सुझाव : ‘जनमतको सत्ता उन्माद र नेताहरूलाई भगवान् बनाउने गल्ती नगर्नुहोला’

image सोमबार, आषाढ ८ २०८३
image
A+ A A-

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई प्राप्त असाधारण जनमतको सत्ता उन्मादमा नचढ्न र पार्टीभित्र नेताहरूलाई भगवान् बनाउने गल्ती नगर्न सुझाव दिएका छन् ।

रास्वपाको पहिलो ऐतिहासिक महाधिवेशनको उद्घाटन समारोहमा आइतबार शुभकामना दिँदै सभापति थापाले लोकतन्त्र, कानुनी शासन र सामाजिक न्यायका आधारभूत मान्यतालाई मन, वचन र कर्मले अगाडि बढाउन आग्रह गरे ।

जनमत सम्हाल्न नसकेका विगतका दलहरूबाट सिक

थापाले विगतमा नेपाली कांग्रेस र अन्य राजनीतिक दलहरूले पाएको बलियो जनमतलाई सदुपयोग गर्न नसक्दा देश र लोकतन्त्रले ठूलो मूल्य चुकाउनुपरेको इतिहास स्मरण गराए । कांग्रेसले २०४८ र २०५६, माओवादीले २०६४ तथा नेकपाले २०७४ मा प्राप्त गरेको जनमत सम्हाल्न नसकेकोतर्फ संकेत गर्दै उनले भने:

"रास्वपाको यो जनमत असाधारण र लोभलाग्दो छ । तर विगतमा दलहरूले तीन–चार पटक यस्तै जनमत प्राप्त गर्दा पनि हरेक पटक दुर्घटनामा पर्‍यो । नेताहरूको अहंकार र व्यक्तिबीचको टकरावका कारण ती जनमतहरू भत्किए ।"

उनले शक्तिको सीमा बुझ्न नसक्दा सत्ताको उन्माद चढ्ने र त्यसले अप्रजातान्त्रिक व्यवहार निम्त्याउने खतरा औंल्याउँदै रास्वपालाई त्यस्तो अवस्थाको सामना गर्नु नपरोस् भनी कामना गरे । "जनमत प्राप्त गरेका पार्टीहरूले आफूलाई सम्हाल्न नसक्दा पहिलो सिकार पार्टी र लोकतन्त्र बन्यो, नागरिक र हाम्रो पुस्ता खेर गयो । यो असफलता अब नेपालले बेहोर्नु हुँदैन," थापाले थपे ।

आफ्नै नेतालाई भगवान् र 'बा' नबनाउनू, प्रश्न गर्ने साहस राख्नू

थापाले रास्वपाका महाधिवेशन प्रतिनिधिहरूलाई पार्टीभित्र आन्तरिक लोकतन्त्र बलियो बनाउन आफ्नै नेतृत्वमाथि निरन्तर प्रश्न उठाउन सुझाव दिए । कांग्रेसले विगतमा समयमै प्रश्न उठाउन नसक्दा गल्ती भएको स्वीकार गर्दै उनले रास्वपालाई सोही गल्ती नदोहोर्‍याउन आग्रह गरे ।

"आफ्नै दलभित्र प्रश्न गर्न छाड्नु हुँदैन । हामीले हाम्रा नेताहरूलाई भगवान् बनाएर गल्ती गरिसक्यौं, 'बा' बनाएर गल्ती गरिसक्यौं । तपाईंहरूले यो गल्ती नगर्नुहोला । गल्ती गरेका बेला आफ्नै नेतालाई प्रश्न गर्ने साहस गर्नुहोला ।"

उनले आफ्नो पार्टी 'दास र लासको होइन' भनेर कांग्रेसले बेलैमा भन्न नसकेको स्वीकार गर्दै रास्वपाका कार्यकर्तालाई त्यसबाट सिक्न आग्रह गरे ।

"कांग्रेस प्रतिस्पर्धी हो, दुश्मन होइन"

संसद्को प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका थापाले रास्वपा नेतृत्वको सरकारले गर्ने राम्रा कामको समर्थन र गलत कामप्रति सशक्त प्रश्न उठाउने स्पष्ट पारे ।

"कांग्रेस रास्वपाको प्रतिस्पर्धी हो, दुश्मन होइन । हामी जहाँ प्रश्न गर्नुपर्ने हो, औंला ठड्याउनुपर्ने हो, त्यहाँ औंला ठड्याउँछौं । थपडी बजाउनुपर्नेमा बजाउँछौं," थापाले भने, "देशको सीमा रक्षाका पक्षमा र राष्ट्रिय हितका विषयमा रास्वपा सरकारले दह्रो कदम चालेको दिन हामी रास्वपाभन्दा पनि ठूलो स्वरले थपडी बजाउनेछौं ।"

गरीबी र विभेदलाई साझा दुश्मनका रूपमा औंल्याउँदै थापाले सुशासन र नागरिकका मुद्दामा रास्वपा लड्दै गर्दा कांग्रेस सधैं साथमा रहने प्रतिबद्धता समेत व्यक्त गरे ।