सरकारले भारतबाट कुखुरा, चल्ला र अण्डा आयातमा पूर्ण प्रतिबन्ध लगाए पनि सीमा क्षेत्रबाट भइरहेको अवैध तस्करीका कारण बाँके जिल्ला बर्डफ्लुको उच्च जोखिममा परेको छ। नेपालका ११ जिल्लाहरू (मोरङ, झापा, सुनसरी, बारा, महोत्तरी, चितवन, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रे) मा बर्डफ्लुको संक्रमण पुष्टि भइसकेको र भारतका विभिन्न स्थानमा समेत यो रोग देखिएकाले खुला सीमानाका कारण बाँकेमा पनि यसको खतरा बढेको नागरिक समाज तथा सरोकारवालाहरूले बताएका छन्।
मातृभूमि अनलाइनका समाचारदाताहरूले सीमा क्षेत्र र स्थानीय बजारमा गरेको स्थलगत रिपोर्टिङका अनुसार, भारतबाट लुकीछिपी भित्रिने कुखुरा, चल्ला तथा अन्य पक्षीजन्य वस्तुका कारण संक्रमण फैलिने डर अत्यधिक रहेको छ। नागरिक समाजका प्रतिनिधिहरूले मुख्य सीमा नाकाका साथै खुला क्षेत्रमा समेत निगरानी कडा बनाउन माग गरेका छन्। विशेष स्रोतका अनुसार, "मुख्य नाकासँगै खुला सीमा क्षेत्रमा कडाइ गरिएन र जिल्लामा आवश्यक सचेतना अपनाइएन भने बर्डफ्लु भित्रिन धेरै समय लाग्ने छैन, जसले ठुलो आर्थिक र वातावरणीय क्षति निम्त्याउन सक्छ।"
त्यस्तै, स्थानीय नागरिक अगुवाहरूले छिमेकी देश भारत र नेपालकै ११ वटा जिल्लामा संक्रमण फैलिसकेको विद्यमान जोखिमलाई मध्यनजर गर्दै सम्बन्धित निकायले तत्काल विशेष सतर्कता अपनाउनुपर्नेमा जोड दिएका छन्।
करोडौँको लगानी डुब्ने डरले किसान र व्यवसायी चिन्तित
अवैध आयात जारी रहे यसले मानव स्वास्थ्यमा गम्भीर असर पार्नुका साथै स्थानीय पोल्ट्री व्यवसाय नै पूर्ण रूपमा धराशायी हुने चिन्ता किसान तथा व्यवसायीले व्यक्त गरेका छन्।
बाँकेका स्थापित एवं ठुला पोल्ट्री फार्मका सञ्चालक तथा व्यवसायीहरूका अनुसार भारतबाट हुने अवैध कुखुरा आयात रोक्न नसके बर्डफ्लु भित्रिने जोखिम निकै बढ्नेछ। एक स्थानीय व्यवसायीले चिन्ता व्यक्त गर्दै भन्नुभयो, “बर्डफ्लु भित्रियो भने मानव स्वास्थ्यमा गम्भीर असर पर्नुका साथै करोडौँ रुपियाँ लगानी भएको कुखुरापालन व्यवसायसमेत पूर्ण रूपमा समाप्त हुन सक्छ।” अन्य पोल्ट्री व्यवसायीहरूले पनि बर्डफ्लु नियन्त्रण र नेपाली किसानको रक्षाका लागि भारतबाट हुने कुखुराको अवैध आयात रोक्नु अपरिहार्य भएको बताएका छन्।
प्रशासनद्वारा सुरक्षा र निगरानीमा कडा निर्देशन
जोखिम बढ्दै गएपछि स्थानीय प्रशासनले सीमा क्षेत्रमा सुरक्षा र जाँचबुझलाई तीव्र पारेको जनाएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार मुख्य सीमा नाकामा खटिएका सुरक्षा निकाय र क्वारेन्टाइन कार्यालयलाई अवैध कुखुरा तथा गुणस्तरहीन माछाको आयात रोक्न कडा निर्देशन दिइएको छ।
बर्डफ्लुको जोखिमलाई मध्यनजर गर्दै सीमा क्षेत्रमा निगरानी र नियन्त्रणको कार्यलाई अझ प्रभावकारी र चुस्त बनाइएको प्रशासनका उच्च अधिकारीले जानकारी दिएका छन्।