काठमाडौं महानगरपालिकाको आयोजनामा यूनेस्कोको ‘फिल्म नगर’ मान्यताअन्तर्गत 'काठमाडौं फिल्म फेस्टिभल' (केएफएफ) अन्तर्गतको 'टोलटोलमा फिल्म महोत्सव' आजदेखि खुला मञ्चबाट सुरु भएको छ. कला र संस्कृतिसँग मानिसलाई जोड्ने तथा हलमा प्रदर्शन नभएका लघु फिल्महरूलाई समुदायस्तरमै पुर्याएर प्रदर्शन गर्ने उद्देश्यले यो महोत्सव सञ्चालन गरिएको हो.
स्थानीय आयोजक 'इकोज इन द भ्याली' सँगको सहकार्यमा सुरु भएको यो महोत्सव आगामी असार २६ गतेसम्म चल्नेछ. महोत्सव अवधिभर हरेक हप्ताको शनिबार र आइतबार काठमाडौंका विभिन्न ८ वटा टोल तथा खुल्ला स्थानहरू (खुलामञ्च, असन, बागबजार, सुन्धारा परिसर, मैतीदेवी मन्दिर खुला चौर, लगनटोल, बालाजु बाइपास क्षेत्र र यट्खा बहादल) मा फिल्महरू प्रदर्शन गरिनेछन्. यस कार्यक्रमलाई चलचित्र विकास बोर्ड, ब्रिटिस काउन्सिल, नेपाल फिल्म एकेडेमी र यूनेस्कोले समेत सहकार्य गरेका छन्.